लेखक वार्ता: देवेन्द्रराज पाण्डे
२०७७ माघ १९ गते kitabkiro
देवेन्द्रराज पाण्डे (८१) निजामती सेवामा सचिवको पदसम्म पुगेर ४० वर्षको उमेरमै अवकाश हुने ‘भाग्यमानी’ हुन्। सरकारी जागिर छोडेर पञ्चायतको कट्टर आलोचक बनेका पाण्डेले ४६ सालको राजनीतिक परिवर्तनपछि केही समय अर्थ मन्त्रालयको नेतृत्व सम्हाले।
मानवअधिकार, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, विकास विमर्श र नागरिक आन्दोलनमा उनको विशेष योगदान छ। लाेकतन्त्र, गणतन्त्र र संघीयताको आन्दोलनमा सडक संघर्षमै क्रियाशील रहेका पाण्डेका विभिन्न लेखहरुको संकलन अर्थराजनीतिक विसंगति : राष्ट्रको तगारो, नेपाली अर्थराजनीति चुनौती र विकल्प, नागरिक आन्दोलन र गणतान्त्रिक चेतना गरी तीनवटा पुस्तक प्रकाशित छन्। नेपाल्स फेल्ड डेभलपमेन्ट, द आइडिया अफ इन्ट्रिग्रिटी युनिभर्स अफ करप्सन एन्ड एन्टिकरप्सन उनका अंग्रेजीमा लेखिएका पुस्तक हुन्। गत साता उनको आत्मसमीक्षात्मक कृति एक ज्यान दुई जुनी प्रकाशित भएको छ। सोही कृतिमा आधारित रहेर पाण्डेसँग नेपाल समयले गरेको कुराकानी:
‘एक ज्यान दुई जुनी’ पुस्तक सिर्जनाको आधार के हो?
मेरो सार्वजनिक जीवन निजामती कर्मचारीबाट सुरु भयो। ४० वर्षको उमेरमा अर्थ मन्त्रालयको सचिवबाट अवकाश भएँ। त्यसपछि म विभिन्न आन्दोलनमा संलग्न भएँ, लोकतन्त्र, गणतन्त्र, शान्ति, स्थिरता र मानव अधिकारका पक्षमा। केही पुस्तक पनि लेखें। जीवनको उत्तरार्धमा आइपुग्दा आफ्नो विगतबारे आत्मसमीक्षा गर्न मन लाग्यो, एकपल्ट खोतल्न मन लाग्यो। यसै क्रममा पुस्तक तयार भएको हो।
आफ्नोे पुस्तकबारे आफैंले केही भन्न मलाई संकोच छ र धक पनि लाग्छ। मेरा लागि आफ्नै जीवनका कार्यकलापबारे पुस्तक लेख्ने कुरा रुचिको विषय पनि थिएन। कतिपय मित्रहरूले मलाई आत्मवृत्तान्त लेख्ने सल्लाह दिँदा म त्यति उत्साहित हुँदैनथें। भन्ने गर्थें– मेरो जीवनी त्यति महत्त्वपूर्ण भएको भए, मेरा कुरा पठनीय भएको भए पुस्तक अरूले नै लेखिदिन्छन्, आफैंले किन लेख्नुपर्यो र?
तर पनि हामीले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक अवस्था जेजसरी भोगिरहेका छौं, त्यहाँ एक प्रकारको अस्थिरता असमानता, असमञ्जस्य छ। त्यसले गर्दा मैले आफ्नो जीवनमा के गरें, के गरिनँ, के गर्न खोजेको थिएँ, परिणाम के प्राप्त भयो भन्ने जस्ता प्रश्न मनमा आइरहे।
यिनै कारणले गर्दा यो पुस्तक लेखनको आधार बन्यो। मेरो आठ दशकको जिन्दगी चालीस–चालीस वर्षमा विभाजित भएको छ। त्यसैले पुस्तकको शीर्षक ‘एक ज्यान दुई जुनी’ राखिएको हो।
आत्मसमीक्षा गर्दा केही गुनासा पनि छन् कि?
काठमाडौंको सामाजिक परिवेशमा जन्मे–हुर्केर देशविदेशमा शिक्षा प्राप्त गरी सरकारी जागिरमा प्रवेश गरें। राजा वीरेन्द्रको सामीप्यमा पनि मैले काम गर्ने मौका पाएँ। १८–१९ वर्षको उमेरमा शाखा अधिकृतबाट प्रवेश गरेर सचिबाट अवकाश भएँँ। पञ्चायत कालमा यस्तो अवसर धेरै निजामती कर्मचारीलाई प्राप्त हुँदैनथ्यो। यो मेरो अघिल्लो जुनी भयो।
फेरि एउटा घडी आयो, मेरो जीवनले एकाएक बेग्लै प्रकारको मोड लियो। म विपरीत ध्रुवमा विचरित भएँ, बागी भएँ पञ्चायती व्यवस्थाको विरुद्धमा। मानवअधिकारवादी, बहुदलवादी हुँदै ४६ सालको आन्दोलनमा योगदान गरें। अर्थ मन्त्रालयको नेतृत्व पनि गर्ने अवसर पाएँ।
५२ सालमा माओवादीले जनयुद्ध सुरु गरे। त्यसपछि यिनीहरूलाई शान्ति प्रक्रियामा ल्याउन पाए हिंसा बन्द हुन्थ्यो, मुलुकमा शान्ति कायम हुन्थ्यो र सबैको सहमतिमा नयाँ संविधान बन्यो भने एउटा राजनीतिक परिपाटी बस्छ, जसले विकास प्रक्रिया र अभियानलाई सुनिश्चित गर्ने र सार्थक बनाउने एउटा स्थिति बन्छ भनेर लागें। त्यसपछि पनि नागरिक आन्दोलनमा मेरो सक्रियता कायमै रह्यो। त्यो मेरो पछिल्लो जुनी हो। पुस्तकमा मेरा बाल्यकाल र परिवारका कुरा पनि छन्। तिनले नयाँ पुस्तालाई समकालीन समाजको एउटा कालखण्डको चिनारी दिने विश्वास छ।
लेखकले आफ्नो रुचिका विषयमा रचना गर्दा त्यसपछाडि केही न केही अहंको तुष्टि लिने आधार हुन्छ। त्यसको पनि केही भूमिका यहाँ होला। मलाई जुन क्षेत्रमा रहेर काम गर्दा पनि आफ्ना लागि केही नराम्रो गरेजस्तो लाग्दैन। त्यसैले आफूप्रति गुनासो छैन। आफूलाई भाग्यशाली ठानेको छु।
पुस्तकमा कुनकुन विषयवस्तुलाई उठान गर्नुभएको छ?
कतिपयले मेरो शीर्षकबाट पुस्तकका बारेका थाहा पाउँछन्। तर नयाँ पुस्ताले थाहा पाउँदैन। पुस्तक शीर्षकमा भनेजस्तो भाग १ र भाग २ गरी दुई जुनीमा विभाजन गरिएको छैन। अगाडिपछाडिका कुरा सन्दर्भअनुसार लेखिएका छन्।
एउटा जुनी बालककाल, किशोरकाल, विद्यार्थी काल, परिवार र निजामती कर्मचारीको जीवन, जुन निकै सन्तुष्टिका साथ बित्यो। ४० वर्षको उमेरपछि भने जिन्दगीले नयाँ मोड लियो। सामान्य जीवन बिताइरहेको थिएँ। जागिरमा उन्नति हुँदै थियो। जागिर छाडेपछि परिवारजनले बडो उदेक माने। धेरैलाई लाग्यो, मैले किन यस्तो गरें? त्यसपछि मेरो संलग्नता अन्य क्षेत्रमा रह्यो। देशविदेशको भ्रमण गरें।
पुस्तकमा केही विषय नौला पनि छन्। म सभ्रान्त हो कि होइन भन्ने विषयमा मैले आफैंलाई व्यंग्य गरेको छु। म आफूलाई असफल कर्मचारी ठान्छु। कारण मेरो पेन्सन त पाकेन। निजामती सेवामा प्रवेश गरेको छोटो अवधिमा सचिवबाट अवकाश हुनु मेरा लागि असफलचाहिँ होइन। पुस्तकमा मैले यी विषय गम्भीर रूपमा समावेश गरेको छु।
तपाईं राजनीतिक व्यक्तित्व नभए पनि ४० वर्षदेखि आन्दोलनमै संलग्न हुनुहुन्छ नि हैन?
जागिर छाडेपछि म मुलुकभित्र मानवअधिकारवादी, बहुदलवादी, लोकतन्त्रवादी र गणतन्त्रवादी भएर आन्दोलनमा लागें। राजनीतिक परिवर्तनको उद्देश्य देश विकासका निम्ति अनुकूल र संरचनात्मक संस्कृतियुक्त व्यवस्था प्रणाली स्थापना हुनुपर्छ भनेर त्यसमा लागिरहेको हुँ।
हो, म आन्दोलनकारी भएँ। तर राजनीतिक व्यक्ति त होइन। राजनीतिक खेलाडी भन्ने विषय पनि पुस्तकमा समावेश छ। त्यसो त म अर्थविद्मा पनि गनिएँ। तर मसित अर्थशास्त्रको डिग्री छैन। कस्तो अर्थविद् भनेर आफैंले आफैंलाई जिज्ञासा राखेको छु। बुद्धिजीवीका रुपमा पनि गनिएँ। तर भूतपूर्व कर्मचारी कसरी बुद्धिजीवी भन्ने कुरा पनि आएका छन्।
पुस्तकमा राजनीतिक, विकास, राजा, पछिका नेताहरू, गणतन्त्र जस्ता विषय छन्। मैले भ्रष्टाचारविरोधी र मानवअधिकारवादी गैरसरकारी संस्था पनि चलाएँ। दक्षिण एसियाली नागरिक समाजका तर्फबाट यस क्षेत्रमा लोकतन्त्रलाई कसरी सार्थक र बलियो बनाउने भन्ने सन्दर्भमा विचारविमर्शमा पनि सामेल भएँ।
आन्दोलनकारी हुँदाहुँदै मैले विकाससम्बन्धी आफ्नो पेसा छाडिनँ। देशभित्र र बाहिरका नागरिक समाजसँग क्रिया–अन्तरक्रिया भए। मूल कुरा विकासका निम्ति नभइनहुने एउटा उपयुक्त राजनीतिक व्यवस्था, प्रणाली, संस्थागत संरचना निर्माण होस् भनेर त्यसमा लागियो। जीवनका यिनै भोगाइलाई पुस्तकमा लिपिबद्ध गरेको छु। यो मेरो आत्मवृत्तान्त होइन, आत्मसमीक्षा हो।
आत्मसमीक्षामा लेखक इमानदारी बन्न सहज रहेछ?
यो त पाठकले मूल्यांकन गर्ने विषय हो। मैले आफूले भोगेका धेरै कुरा सम्झी–सम्झी लेखेको छु। एकपटक लेखेर पढ्दा धेरै प्रसंग छुट्दो रहेछ। अनि दोहोर्याएर तेहेर्याएर लेखेको छु। त्यसैले मलाई त्यति अप्ठ्यारो भएन।
कतिपय झिनामसिना विषय छुटेका छन्। ती पाठकका लागि थप पठनीय हुन सक्थे। किताबको आकार ठूलो हुने भएकाले त्यस्ता सन्दर्भ कम गर्ने प्रयास गरेको छु। इमानदारीपूर्वक लेख्दालेख्दै पनि केही विषय छुटेका हुन सक्छन्।
पुस्तकमा मुलुकको समाज, इतिहास, प्रशासन, राजनीतिबारे आफ्नो अनुभव लेखेको छु। ती विषयको प्रयोजन, सान्दर्भिकता र उपयोगितालाई बहुत ख्याल गरेको छु। जीवन काेट्याउँदै समीक्षा गरिएकाले मलाई कुनै कुरा बाहिर ल्याउन कठिन भएजस्ताे लाग्दैन। याे त पाठकले नै महसुस गर्ने कुरा हाे।
मुलुकको अर्थराजनीतिमा बाह्य प्रभावलाई पनि पुस्तकमा समेट्नुभएको छ?
कुनै विषय निरपेक्ष हिसाबमा मात्र वर्णन नगरी आफ्नो जीवनको सापेक्षतामा उल्लेख गर्दा विभिन्न कुरा आइहाल्छन्। पुस्तकमा अर्थराजनीतिबारे मेरो रुचि र विशेषज्ञतालाई समेटेर भिन्नै परिच्छेद भने छैन।
मलाई भारतका केही कुरा चित्त बुझेका छैनन्। तर भारतको आलोचक र अचेलको भाषामा राष्ट्रवादी भएर होइन, प्रशासनिक क्षेत्रमा संलग्न रहँदा, अर्थमन्त्री हुँदा र सामान्य नागरिक हुँदा मैले भोगेको र मलाई लागेका कुरा लेखेको छु। यस्तै तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियाका ल्याउन मैले उनीहरुसँग दिल्लीमा गएर भेटेको सन्दर्भ पुस्तकमा छन्।
चीनका बारेमा थोरै प्रसंग समावेश छ। वैदेशिक सम्बन्धमा विविध विषय छन्। विकासका क्रममा भित्रिएका केही नकारात्मक विषयले पार्ने प्रभावलाई थोरै समेटेको छु। मेरो दृष्टिकोणअनुसार बाह्य प्रभाव छ वा छैन भन्ने बुझ्न त पुस्तक आद्योपान्त पढ्नैपर्छ।
पुस्तक कुन उमेर समूहका पाठकका लागि हो जस्तो लाग्छ?
कुन उमेरका पाठकले पढून् भन्दा पनि लेखकलाई अहंका कुरा आउँदो रहेछ। साथीहरुसँग ठट्टा गरेर भन्ने गरेको छु, तिमीहरु गफ मात्र नगर है, किनेर पढ। किनेर पढ्यौ भने म पनि सेलिब्रेटी बन्छु भनेर गफ दिने गरेको छु।
पुस्तकमा विकास, राजनीति र परिवर्तनका कर्ता राजाहरुको भूमिका, बहुदल आएपछि नेपाली कांग्रेस, तत्कालीन एमालेका नेताहरुको कार्यशैली र गणतन्त्रपछिका नेताहरुसँगको मेरो व्यक्तिगत क्रियाकलापको समीक्षा गरेको छु। यस्तो जानकारी त जुनसुकै उमेर समूह र क्षेत्रका मानिसलाई काम लाग्न सक्छ।
मुलुकको विकाससँगको सन्दर्भ र भएगरेका कामको परिणामबारे मेरो आफ्नो विश्लेषण पाठकलाई चित्त बुझे पनि नबुझे पनि केही न केही मौलिक दृष्टिकोण हुन सक्छ कि भन्ने लाग्छ।
म मेरो पुस्तक पढ्नैपर्छ भनेर कसैलाई सिफारिस गर्दिनँ। रुचि हुने युवा पुस्ताले पढ्लान्। अघिल्ला पुस्तालाई पनि कौतूहल हुन्छ होला, के लेखेछ भनेर। उनीहरूले पनि केही नौला कुरा थाहा पाउँछन् मेरो र मुलुकका बारेमा।
मलाई मुलुकको राजनीतिक अवस्था देख्दा जति विरक्त लाग्छ, उति नै युवा पुस्तामाथि भरोसा लाग्छ। तर यो पुस्तकबाट शिक्षा लिनुपर्छ म भन्दिनँ। केही कुरा मननीय भए मनन गर्ने, अनुकरणीय भए अनुकरण गर्ने र मैले गरेका गल्ती छन् भने त्यसबाट पाठक जोगिने हो।
खासगरी यो पुस्तकमा पञ्चायत काल, त्यस उप्रान्तको विकास र राजनीतिबीचको सम्बन्ध छ। ती विषय विकास अर्थशास्त्रका विद्यार्थी, निजामती कर्मचारी, राजनीतिक नेताकार्यकर्ता तथा समकालीन नेपाललाई चियाउन चाहनेका लागि उपयोगी हुन सक्छ।
मैले काठमाडौंवासीका नाताले के कस्तो भूमिका निर्वाह गरें, त्यसको समीक्षा गर्न खोजेको छु के पुगेको छैन भनेर। बाँकी कुरा पाठकले, टिप्पणीकारले जे देख्छन्, जे भन्छन्, सोही हुन्छ। ताली, गाली जेजे पाइन्छ त्यो सबै मलाई स्वीकार्य हुनेछ।
आशा छ, पुस्तक नयाँ पुस्ताका साथीहरूले रुचिपूर्वक पढ्लान् र मजस्ताका जीवनबाट उपयोगी कुरा सिक्न मिल्ने भए लाभान्वित होलान्।
पठन संस्कृति विकासका लागि के गर्नुपर्ला जस्तो लाग्छ?
मैले विद्यार्थीकालमा जति मात्रामा पढ्नपर्थ्यो पढिनँ। त्यसैले मलाई पछुतो छ। जागिरबाट अवकाशपछिको अध्ययन र क्रियाकलापले मेरो दृष्टिकोण फराकिलो भएको हो। त्यसपछि मात्र समाज र राजनीतिलाई बृहत् रुपमा बुझ्न थालेको हुँ।
त्यसैले म युवालाई भन्छु– चालीस वर्ष नपर्ख है। अवसर छ। प्रविधिको पहुँचले सजिलो बनाइदिएको छ। मेरो अनुभवमा पठनपाठनले व्यक्तिलाई सतही सोचबाट उम्कन सजिलो हुन्छ।
तारिफ गर्यो भने केका आधारमा भन्ने विचार गर्न सक्नुपर्छ। आलोचना गर्नुको कुनै तुक छ कि? भनेर तर्क गर्न सक्नुपर्छ। राजनीति मात्र होइन, बाह्य गतिविधिबाट पनि विकास प्रक्रिया प्रभावित हुने गरेको छ। त्यसलाई परिवर्तन गर्न मुलुकको भूगोल, समाज, हावापानी, विविधता, सम्पदाअनुसार मौलिक चिन्तन ल्याउनुपर्छ। त्यसका लागि त पढ्नैपर्छ।
मेरो अनुभवमा विशेषज्ञ ज्ञानले मात्र पुग्दैन। इन्जिनियर हुन् वा चिकित्सक आफ्नो क्षेत्रमा विशेषज्ञ भएर हुँदैन। विशिष्टीकरण गरेर इमानदारीपूर्वक सेवा गरेको छु भनेर पनि हुँदैन।
समाजले शिक्षितहरुबाट बढी नै अपेक्षा गरेको हुन्छ। त्यसका लागि अध्ययन व्यापक हुनुपर्छ। यसमा साहित्यिक कृतिको भूमिका ठूलो छ। स्वदेश र विदेशका समकालीन इतिहासबारे पनि गहन अध्ययन हुनुपर्छ।
हाम्रो देशका नेताको एउटा ठूलो कमजोरी छ। अरू देशका नेताले केही न केही योगदान छाडेर गएका हुन्छन्। हाम्रोमा त्यस्तो देखिँदैन। विदेशका ठूला नेताहरुको जीवनी पढेर नेतृत्व भनेको के हो भन्ने बुझ्न सकिन्छ। मेरो जिम्मेवारी के हो? कार्यकर्तासँग कस्तो व्यवहार गर्ने? संस्कृति के हो भन्ने कुरा सिकिन्छ।
म त अहिलेका नेताहरूलाई हात जोडेर भन्छु, पुस्तक पढ्ने बानी बसाल्नुस्। नेताहरूमा आफ्नो पक्षको अखबारबाहेक केही नपढ्ने बानी छ। एकथरी मात्र पढ्दा यसले सधैं ठिक गरिरहेको छु जस्तो लाग्छ। सप्रने र सुधार गर्ने ठाउँ नै रहँदैन।
लामो समयदेखि देशमा उपयुक्त राजनीतिक व्यवस्था, प्रणाली, संस्थागत संरचना निर्माण होस् भनेर खटिनुभयो। प्राप्त उपलब्धि बेला बेलामा धर्मराउन खोज्छन्, किन यस्तो भएको होला?
यस्तो देख्दा बेलाबेलामा निराशा उत्पन्न हुन्छ। तर आफ्नो आस्था नछाडेपछि केही हुँदो रहेनछ। सन्तुष्टि दिने खालको अनुभव भएको छैन। तर पनि हामीसँग लोकतन्त्रको अर्को विकल्प छैन।
यो व्यवस्थामा पनि सबै सन्तुष्ट हुन्छन् भन्ने छैन। अहिले कसैलाई राजा चाहिसकेको छ। पञ्चायत ठिक भन्ने पनि छन्। सत्य के हो भने लोकतन्त्रमा सबैले आफ्ना कुरा राख्न पाउनुपर्छ।
ढिलो गरी लोकतन्त्रवादी भएकाले होला मलाई यसको औधी माया लाग्छ। तर मलाई मात्र सजिलो भएर हुँदैन। मुलुकका बहुसंख्यक जनता आर्थिक हिसाबले विपन्न छन्। सामाजिक रूपमा वञ्चित छन्। राजनीतिमा उनीहरूको सहभागिता कम छ। नागरिकले राष्ट्रको एउटा सदस्य हुँ, नेपाली हुँ भनेर गर्व गरेर मात्र हुँदैन, राज्यमा उसको ठाउँ सुनिश्चित हुन सकेको छैन।
यस्तो अवस्थामा नागरिकले राज्यले मेरा लागि के गर्यो भन्ने प्रश्न गरिरहेका छन्। यसको उचित समाधान हुन नसक्दा मन विचलित हुँदो रहेछ।
हामीसँग मोटो संविधान छ, लोकतान्त्रिक व्यवस्था छ भन्छौंं, तर पनि प्रणालीले काम गरिरहेको देखिंँदैन, किन होला?
मूल समस्या नै यही यही हो। यसमा मूर्त र अमूर्त विषय छन्। मूर्त कुरा हो भने मोटो संविधान हुँदैमा राम्रो हुने होइन। भारतको संविधान मोटो छ, अमेरिकामा सानो छ, बेलायतमा संविधान नै छैन।
हामीले ४७ सालमा संविधान बनाएका हौं। त्यसलाई नेताहरुले उत्कृष्ट भन्दै हिँडेका थिए। तर मलाई संविधान उत्कृष्ट लाग्दैनथ्यो। त्यो संविधानको अर्धविराम र पूर्णविराम परिवर्तन हुँदैन भनेको सुन्दा मेरो कपाल दुख्थ्यो। किनकि संविधान त्यस्तो हुँदैन।
७२ सालको संविधान जारी भएको दिनदेखि नै समाजका केही महत्त्वपूर्ण पक्षबाट विरोध भएकै हो। कुनै पनि नागरिकको जीवनमा संविधानले अंगीकार गरेन, आफ्नो जीवन, आकांक्षा र भविष्य सम्बोधन गरेन भन्ने अनुभूति छ भने केही मानिसले मात्र राम्रो ठानेर हुँदैन। यसलाई सुधार गर्दै जानुपर्छ।
विभिन्न आन्दोलनमार्फत संस्थागत संरचना परिवर्तनका निम्ति प्रयास भएकै हुन्। मूल समस्या, जुनसुकै संविधान भए पनि २००७ यता मुलुकले लोकतान्त्रिक बाटोमा एउटा दिशा लिएर उचाइतर्फ हिँड्ने प्रयास किन गर्न सकेन? स्थिर राजनीतिक व्यवस्था किन कायम हुन सकेन भन्ने हो।
अमूर्त विषयचाहिँ नेताहरुमा रहेको राजनीतिक संस्कृति र लोकतान्त्रिक संस्कार हो। लोकतन्त्र भनेको के हो? त्यसमा नेताहरुको कस्तो व्यवहारको अपेक्षा गरिन्छ नागरिक र राज्यबीच सम्बन्ध कस्तो हुने? सबै मिलेर पुग्नुपर्ने गन्तव्य कहाँ हो??
हाम्रा नेताहरुमा यस्तो राजनीतिक संस्कारको विकास हुनै सकेन। राजनीतिमा प्रतिस्पर्धा त हुन्छ नि। विचारको प्रतिस्पर्धाले अगाडि बढ्ने हो। त्यसैले त हामीलाई बहुदल र पार्टीहरु चाहिएका हुन्।
त्यति हुँदाहुँदै पनि मिलेर काम गर्नुपर्छ। पार्टी र मुलुकको स्वार्थलाई एउटै देख्न मिल्दैन। कार्यकर्ता मात्र नागरिक होइनन्। नेतृत्वको मुख्य काम त आमजनताको आकांक्षा सम्बोधन गर्नुपर्ने हो। उनीहरुलाई अवसर दिने हो।
उनीहरुमा रहेको क्षमतासमेत उपयोग गरेर राजनीति, समाज, संस्कृति, प्राज्ञिक, बौद्धिक र पेसागत क्षेत्रमा संलग्न गराएर अगाडि बढ्नुपर्ने हो। नेतृत्वको वा नागरिकको कमजोरीले होस् वा आन्तरिक वा बाह्य कारणले गति लिन नसकेको अवस्था छ।
जारी नागरिक आन्दोलनबारे कुनै टिप्पणी?
नागरिक आन्दोलनको आवश्यकता देखिएर नै केही व्यक्तिहरु सडकमा आउनुभएको हो। यसप्रति मेरो ऐक्यबद्धता छ। आफू सडकमा नउत्रिए पनि सल्लाह दिइरहेको छु।
संसद् विघटन असंवैधानिक भयो। अब पुनःस्थापना हुनुपर्छ। त्यसपछि बन्ने सरकार यसअघि जसरी चलेर भएन, जबाफदेही हुनुपर्छ। राज्यको संस्कृति र जनताप्रतिको उत्तरदायित्व वहन गर्ने हुनुपर्यो।
मुख्य गरी नागरिक समाजले दलका नेताहरुलाई लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्धता व्यक्त लगाउनुपर्छ र त्यसअनुसार भयो वा भएन भनेर खबरदारी गरिरहनुपर्छ।
नागरिक समाजमा बेग्लै उद्देश्य बोकेका व्यक्ति पनि संलग्न होलान्। जहाँसम्म उद्देश्य मिल्छ ठिक छ, आफ्नो ठाउँबाट लाग्ने हो। विपरीत दिशातर्फ लागेका मानिसका बारेमा केही भन्न सकिन्न।
Source:Nepal Samaya
Comments