• करोडौं कस्तूरी

करोडौं कस्तूरी

म त्यो दिन सम्झन्छु, जुन बेला भर्खर मेरो ओठमाथि जुँगारेखी बसेको थियो । प्वाल परेको टेनिस सुज लगाएर दिनभरि ज्याला नलिइकन सडक नाप्दै हिँड्थें । कहाँ जाने, कता पुग्ने ? कुनै लक्ष्य थिएन । मान्छेहरुले मलाई बरालिएको आवारा केटो भन्थे । त्यसबखत म आफैलाई पनि लाग्थ्यो, यो संसारमा मजस्तो काम नलाग्ने मान्छे कोही छैन होला । बिनाउद्देश्य, बिनालक्ष्य हिँड्दै जाँदा एक दिन रङ्गमञ्चमा पाइला टेक्न पुगें । रङ्गमञ्चले पनि मजस्तै मान्छे खोजेको रहेछ क्यारे । रङ्गमञ्चले मलाई कहिल्यै पनि छोड्दै छोडेन । यसले मलाई सबैथोक दियो र हरिवंश बनाइदियो । यो उपन्यास मञ्च नपाएका सम्पूर्ण हरिवंशहरुको कथा हो । मलाई पात्रबिम्ब बनाएर कसैले उपन्यास लेख्ला भन्ने लागेको थिएन । यो उपन्यास ती करोडौं कस्तूरीहरुका लागि महत्वपूर्ण हुनेछ, जो आफ्नो जीवनको सुगन्ध थाहा नपाएर भौंतारिइहेका छन् । — हरिवंश आचार्य, कलाकार

अमर न्यौपानेको पहिलो आख्यान ‘पानीको घाम’ले २०६६ सालको पद्मश्री साहित्य सम्मान तथा बालकथा सङ्ग्रह ‘कलिलो मन’ले २०६७ सालको पारिजात बालसाहित्य पाण्डुलिपि पुरस्कार प्राप्त गरेको छ । उनको उपन्यास ‘सेतो धरती’ले मदन पुरस्कार (२०६८), रामराज पन्त पुरस्कार (२०६८), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार (२०११–१२) प्राप्त गरेको छ ।