युवा आख्यानकार सुबिन भट्टराईको उपन्यास ‘समर लभ’ फाइनप्रिन्टले भर्खरै बजारमा ल्याएको छ । पछिल्लो समय तन्नेरीहरुको कलेज रोमान्स, प्रेम र विछोडको अविस्मरणिय प्रेम कहानीले बुनिएको ‘समर लभ’ यो विन्टरको जाडोमा पढ्न लायक छ ।
कलेजका युवा पुस्तामाझ फेसन झैँ बन्दै गएको चिया, चुरोट र सेक्सका कन्टेन्टहरु भरपुर छन् । केही पर्भर्ट वा छिल्लिएको लाग्न सक्छ । पढ्दै गर्दा तर अन्त्यअन्त्य तिर आउँदा सामान्य जस्तो भान गराउँछ । चुरोट अम्मलीले मज्जाले धुँवाको मज्जा लिनसक्नेछन् । चुरोट नखानेलाई चिया मात्र खान र जोडी नभएकाहरु उस्तै पात्र बनेर कथामा डोहोरिन सक्नेछन् ।
कलेज पढेकाहरुले पुराना दिनहरुमा फर्किएर फेरी ताजा हुन पाउँछन् । कलेजका अनुभव नभएकाले पनि कलेजको क्यानटिन, किर्तिपुरको ट्यांग्लाफाँट, कलेजको क्लासमा आफै बसेजस्तो महसुस गर्नसक्नेछन् । क्यानटिनमा परिचित लाग्ने पुराना दोस्त केटा–केटीहरुसित चियागफ गरिरहेको भान हुन्छ । यस्ता थुप्रै प्रसंगहरु छन्, त्यो पूरा अनुभव गर्न एक पटक ‘समर लभ’ पढ्नै पर्छ ।
कलेजका दिनमा युवायुवतिबीच हने आर्कषण, प्रेम र त्यसपछिका जीवनका आउने मोडहरुका अनुभूवलाई उपन्यासमा नजिकबाट अनुभव गर्न पाइन्छ । कलेजदेखिको युवतिप्रतिको आर्कषण, प्रेम र परिवारलाई थाहै नदिई वैवाहिक स्थितिसम्म पुग्दा पारिवारिक, सामाजिक अड्चनले पात्रहरु बाँचिरहेको परिवेशको अन्तरजातिय विवाहलाई अझै पनि सहजै मान्यता नदिरहेको हाम्रो सामाजिक अवस्थाको पनि चित्रण गर्छ ।
यो उपन्यास दुई मुख्य पात्रहरु – ब्राह्मण पृष्ठभुमिबाट आएका युवक अतित र नेवार पृष्ठभुमिबाट आएकी नारी पात्र साया बीचको प्रेमकथामा आधारित छ । कथामा दुई फरक परिवेशका युवायुवतिको प्रेमप्रतिको लगाव, प्रतिबद्धता र गाम्भिर्यताको स्तर देखाउँछ । उपन्यासकी नारी पात्र साया आफ्नो प्रेमी अतितबाट अनपेक्षितरुपले टाढिन्छे । विछोडले तड्पिएका अतितको मनमा उब्जिएका र जवाफका लागि घच्घचाइरहेका कैयन प्रश्नहरु सायाबाट अनुत्तरित नै रहन्छ । साया मौन बस्छे । अतितको प्रश्नप्रतिको मौनता, उसको नीजि मौनता मात्र नभई हामी बाँचिरहेको परिवेशको मौनता हो । दिनहुँ चलिरहने यस्ता मौसमी प्रेम र विछोडका चित्तबुझ्दो कारण नभेटिनु र प्रेमका बारेमा अनुत्तरित प्रश्नले जवाफ नपाइरहेको सन्दर्भको एउटा चित्रण पनि हो, सायाको मौनता ।तर उपन्यासकी मूलपात्र सायाले अतितसितको प्रेममा गरेकी अदम्य साहसका केही दृष्टान्तहरुले भने आधुनिक प्रेममा साया वा अतितहरु को बढी छन् भन्ने प्रश्न जन्माउन सक्छ । फरक यति हो, समय र परिवेश अनुसार कोही साया र अतितका भुमिकामा आधुनिक युवाहरु बाँचिरहेका छन् ।
उपन्यासका मूलपात्रहरुले विचरण गरिरहने पुरानो विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र आसपास संविधान र संविधानसभाको कुरा उठाइरहँदा यो कथाले देशको ताजा घटनाक्रमहरुलाई दर्शाउन खोज्छ । तर कथाको पात्रहरुले त्रिभुवन विश्वविद्यालयमा भइरहने राजनीतिक, हडताल, तालाबन्दीको सास्तीले उनीहरुको कलेज जीवन अछुतो रहनु केही असान्र्दभिक लाग्न सक्छ पाठकलाई ।
सायासित प्रेमप्रस्ताव गर्दाबखत मानसिक र शारिरिक ढपेडीका कारणबाहेक पसिनैपसिना हुने टन्टलापुर घाम लागिरेहेको प्रसंग त्यस लगतैको अध्यायमा माघपुसको जाडो दिनदिनै घट्न लागेको प्रसंगले पनि अस्वभाविक लाग्छ । विन्टरको जाडोको सेरोफेरोमा घटिरहेको उनीहरुको कथाको दिनहरुमा कहाँबाट टन्टलापुर घाम लाग्छ ? पसिना निकाल्ने टन्टलापुर घाम त बैशाख जेठमा मात्र हुन्छ ।कथामा दिल्ली जाँदा बोलिरहेको नेपाली संवादले हिन्दी बोल्ने परिवेशलाई न्याय गरेन कि ? ‘दिल्ली दुर नहि’ जस्ता हिन्दी लवज बोलिरहँदा त्यँहाका पात्रहरुसित बोलेका नेपालीमा अनुवादित संवाद अलि स्वादिलो लाग्दैन । बरु अहिले राम्ररी हिन्दी बुझ्ने र बोल्ने पुस्ताका लागि केही संवादहरु हिन्दिमै लेखिएका भए पाठक अझ परिवेशसँग निकट हुन पाउँथे की ?
यो बाहेक बोलिचालिका सरल र मिठास भाषामा लेखिएको अतित उत्कृष्ट उपन्यासका रुपमा पाठकले पाएको छ । हिजोआज कलेजमा हुने यस्तै मौसमी प्रेम कथाले पाठकलाई कतिखेर मज्जाले हँसाउछ । पढ्दापढ्दै आँखा रसाउन पनि सक्छ । पाठक पुस्तक पढिसकेर कथाको मूल नारी पात्र सायालाई आफै खोज्न र भेट्न पो लालायित हुन्छन् । साँच्चै, आफ्नै कथा पढेझैँ लाग्नसक्छ कलेज भोगेकाहरुलाई ।
गतिलो पुस्तक पढ्न नपाइरहेका पाठकका लागि पुस्तक पढ्दा कुनै गतिलो सिनेमा हेरे बराबरको ह्यांगओभर र मनोरन्जन अवश्य दिन्छ । भारतीय लेखक चेतन भगतका अंग्रेजी भाषाका उपन्यासका स्वाद चाखेका पाठकलाई भने यो उपन्यासको शुरुवात र अन्त्य पढ्दा भने चेतन शैलीको याद दिलाउँन सक्छ ।
गोजीमै सजिलै बोकेर हिड्न मिल्ने साइजमा आएको उपन्यासको मोटाइ पढ्न आत्तिने खालको पनि छैन । बाहिरीपृष्ठसज्जा हेरेपछि नै पढूँ लाग्ने छ, उपन्यास ‘समर लभ’ । २४७ पृष्ठ सहितको यो पुस्तक, प्रकाशकले भनेझै पढ्दा कुनै झिंजो लाग्दैन । पक्कै छिट्टै पाठकहरुको मन जित्नेछ सुबिन भट्टराईको यो दोस्रो कृतिले ।
साभार : शैलेन्द्र श्रेष्ठको ब्लगबाट | : https://shailendrashrestha.wordpress.com/
सुबिनको यो कृति अर्डर गर्न यहाँ क्लिक गर्नुहोस |
Comments