जंगबहादुरको राजिनामा गर्ने इच्छा !
२०७४ फागुन १० गते पद्मजंग राणा
राजनीति गर्ने मानिसको जीवनशैली भगवानको जस्तै बुझिनसक्नु हुँदो रहेछ । हामी उनीहरूको आन्तरिक मनसाय बुझ्न असमर्थ हुन्छौँ । उनीहरूको यथार्थ आशय यही हो भनेर ठम्याउन सक्तैनौँ । त्यसैले हामी हजारौं युक्ति सङ्गत व्याख्या र विवेचना गर्दछौँ । यो सिद्धान्त खास गरेर ती राजनीतिक व्यक्तिहरूमा लागु हुन्छ, जो आफ्नापद र प्रतिष्ठाको उचाईं प्राप्त गरेका कारण व्याख्या गर्न नसकिने अवस्थामा पुगेका हुन्छन् । उनीहरूलाई बुझ्ने हाम्रा प्रत्येक प्रयास निरर्थक सावित हुन्छन् । वि.सं. १९१३ साउन १७ गतेका दिन जङ्गबहादुरले अकस्मात् प्रधानमन्त्रीको पदबाट राजिनामा दिएर भाइ बमबहादुरलाई आफ्नाउत्तराधिकारी घोषणा गरे । यो घोषणाले सम्पूर्ण नेपाली जगत आश्चर्यचकित भयो । यो आकस्मिक निर्णयले गर्दा उनका आफ्नै भाइहरू पनि बिस्मित भए । मुलुकभरि यसको सर्वत्र चर्चा परिचर्चा चल्यो । स्वयम् जङ्गबहादुरसँग यसको उचित स्पष्टिकरण थिएन । अत ः उनले आफ्नाबल र वर्कतले आगामी दायित्व र गहन जिम्मेवारी वहन गर्न आफू असमर्थ भएको तर्क अगाडि सारे । र, असमर्थताको प्रमुख कारण आफ्नाव्यक्तिगत स्वास्थ्यलाई दिए तर उनको यस तर्कमा कसैले पनि विश्वास गरेनन् र यो अप्रत्यासित कार्वाहीप्रति सबैले शङ्काको दृष्टिले हेरे । हुन पनि उनले यतिका वर्षसम्म राष्ट्र उत्थानका निम्ति अनवरत रूपमा ज्यानको बाजी लगाएर परिश्रम गरेका थिए । त्यसैले उनले अनायास पद त्याग गर्नुको कुनै खास कारण देखिएको थिएन । आजभन्दा ठीक चार महिना अघि उनले मृत्युरहित विजयको गौरव प्राप्त गरेका थिए । उनले तिब्बती आक्रमण अभियानको सफलतापूर्वक साङ्गोपाङ्गो लगाएका थिए । आफ्नाशासन कालको पूर्वार्धमा उनले भोग्नु परेका छलकपट र षडयन्त्रको अन्त्य भएको थियो । विगतका अन्त्यहीन अप्ठ्यारा र भ्रमका बादल छाँटिइसकेका थिए । तर उनको हृदयभित्र कस्तो प्रकारको चोट लाग्यो होला त ! त्यसको रहस्य भगवान्लाई नै थाहा होला । हुन सक्छ, उनको स्वास्थ्य खराब थियो होला । हुन सक्छ, उनलाई आफ्नै भाइहरूबाट पनि कुनै प्रकारको घात हुन सक्थ्यो होला । हुनसक्छ, त्यसकारण उनले आफ्नाअधिकार एउटा भाइलाई हस्तान्तरण गरे होलान् र, अन्य भारदारलाई उनीहरूको पालो पनि कालान्तरमा आउँछ भन्ने आसा देखाए होलान् । तर यसरी अनेक प्रकारका अन्दाज लगाउनुको कुनै अर्थ थिएन । त्यसैले यस मुद्दा पछाडिको सम्भावित रहस्य शायद सदाका लागि रहस्यको गर्भमा नै रहिरहनेछ ।
जनरल बमबहादुरलाई प्रधानमन्त्रीको कार्यभारको जिम्मेवारी दिइयो, जो उनले आफ्नामृत्युपर्यन्त भोग गरे । हुन त बमबहादुरले यसअघि पनि विभिन्न समयमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्मालेका थिए, तर आफ्नाकुसल र सुयोग्य दाजुको सरसल्लाह बिना उनले झिँगो पनि मार्दैनथे र मार्न सक्तैनथे पनि ।
जनताको हृदयमा जङ्गबहादुरको राजिनामाको खबर एउटा झट्का, एउटा क्षोभका रूपमा प्रकट भयो । जनता उनलाई अति प्रिय मित्रका रूपमा हेर्न अभ्यस्त थिए । जनतालाई उनको आर्शिवाद प्राप्त थियो भने जङ्गबहादुरप्रति जनताको अगाध आस्था र विश्वास थियो । तर यस घटनाले कतै पुरानै अस्तव्यस्त, जालझेल र षडयन्त्रको अवस्था दोहोरिने त होइन भन्ने जनताको मनमा सन्त्रास उत्पन्न भएको थियो । कतै जनताको जिउधन, जाली, फटाहा र प्रजा पीडकका मुट्टीमा पर्नजाने त होइन भन्ने भय सिर्जना भएको थियो । त्यसैले यो अति सम्वेदनशील घडीमा, अति महŒवपूर्ण कुरा के थियो भने जङ्गबहादुरले देशको शासन प्रशासनबाट सम्बन्ध बिच्छेद गर्नु हुँदैनथ्यो । त्यसकारण जनताले जङ्गबहादुरलाई जसरी भए पनि आफ्नानिर्णय फिर्ता लिन दबाब दिने र उनलाई पुन ः पुरानै पदमा स्थापित गर्नका लागि आवश्यक कदमहरू चाल्ने निर्णय गरे । यस विषयमा छलफल गर्न कैयौं ठाउँमा बैठक बसालियो, जुन प्रक्रिया नेपालमा यसअघि कहिल्यै व्यवहारमा आएको थिएन, किनभने जनतालाई आफ्नाआवाज बुलन्द गर्ने र सरकारसमक्ष उजुर गर्ने बानी परेकै थिएन । अत ः राजगुरु विजयराजको नेतृत्वमा देशका सम्पूर्ण शीर्ष पुरुष सम्मिलित एउटा प्रतिनिधि मण्डल थापाथली गएर पूर्व प्रधानमन्त्रीलाई भेट्न पर्खि बस्यो । उक्त प्रतिनिधि मण्डललाई यहाँ आउनुको कारण सोधपुछ गर्दा प्रतिनिधि मण्डलका तर्फबाट राजगुरुले निम्न बमोजिम निवेदन गरे ः—
“प्रिय जनहरूको स्वतस्फूर्त र टड्कारो रूपमा खाँचो परेको मायाको चिह्नोका रूपमा यो राष्ट्रका सम्पूर्ण जनता यो देशको श्रीपेच हजुरको शिरमा स्थापना गर्न चाहन्छन् । सानातिना मानिसले गरेका सामान्य कार्यहरूका लागि पनि उनीहरूलाई तक्मा र निवृत्तिभरण दिएर सम्मान गरिएको छ भने देशको स्थायी भलाईका निम्ति हजुरबाट भएका महान् र विख्यात सेवा र कर्महरूको मूल्य चुकाउन टड्कारो खाँचो यो परेको छ कि— ती महान् कार्यहरू सम्पन्न गरेबापत हजुरलाई उचित पुरस्कार प्रदान नगरी रहन सकिँदैन । यद्यपि हजुरलाई जति पुरस्कार र सम्मान प्रदान गरे तापनि त्यो अधूरो र अपुग नै हुनेछ । किनभने त्यसले हजुरका महान् र अद्धितीय कार्यको मापन गर्नसक्ने छैन न त हामीले प्रकट गरेका आभारका शब्दहरूले नै पूरा गर्न सक्नेछन् ।”
जङ्गबहादुरले प्रतिनिधिमण्डललाई उनीहरूको सदिच्छा भेट र सदाशयताका लागि हार्दिक धन्यवाद दिए र प्रत्युत्तरमा भने— “मेरो शिरमा राजमुकुट पहि¥याउने तपाईंहरूको प्रस्ताव मेरो देशको लागि हितकारी छ भने यसमा अवश्य पनि मेरो समर्थन रहने छ । तर मैले यो देखौवा घाँडो नभिरिकन सरकारको कामकाज रेखदेख गर्न सक्छु भने, जसलाई मैले गद्दीमा आरुढ गराएको छु, उसैलाई हटाएर अब म त्यहाँ बस्न सक्तिनँ । देशलाई साँचै नै मेरो सेवाको खाँचो परेको रहेछ छ भने म तत्काल कार्यभार सभाल्न अन्कनाउने छैन— तर मलाई मेरो स्वास्थ्यमा क्रमिक लाभ भएको अनुभूति भएपछि मात्र ।”
त्यसपछि जनताले जङ्गबहादुरलाई कास्की र लमजुङ दुई जिल्लाको सार्वभौमसत्ता अर्पण गर्ने निधो गरे र सजिलैसँग महाराजको पनि लालमोहर छाप लिए । देशवासीको चित्त दुखाउन नहुने आसयले जङ्गबहादुर यो दोस्रो सानो मायाको चिनो ग्रहण गर्न राजी भए ।
वि.सं. १९१३ श्रावण २२ गतेका दिन सार्वजनिक रूपमा उनलाई कास्की र लमजुङको महाराज घोषित गरियो र त्यहाँको उपाधि र सम्पत्तिको भोग चलन उनकै परिवारमा हस्तान्तरण हुँदै जाने पनि घोषणा गरियो । त्यसबाहेक उनलाई सार्वभौम चरित्रका अन्य अधिकार र सहुलियत पनि प्रदान गरियो जसअनुसार यी दुई जिल्ला बाहेक उनले पश्चिममा काली र पूर्वमा मेचीसम्म राज्य सञ्चालनको सम्पूर्ण अधिकार प्रयोग गर्न सक्नेछन् । ती अधिकार निम्न बमोजिम थिए ः—
१. जीवन र मृत्युको अधिकार
२. सरकारका सबै अङ्गका कर्मचारी नियुक्त गर्ने र सेवाबाट बर्खास्त गर्ने
३ अङ्ग्रेज, तिब्बती र चिनियाँ सरकार लगायत कुनै पनि विदेशी शक्ति राष्ट्रसँग सन्धीपत्रमा हस्ताक्षर गर्ने, युद्धको घोषणा गर्ने र शान्ति सम्झौता गर्ने
४ दोषीमाथि दण्ड सजाय तोक्ने
५ नयाँ कानुन बनाउने र पुरानो कानुन खारेज गर्ने (देवानी, फौजदारी र सैनिक अधिकार)
उपरोक्त अधिकार क्रमैले जङ्गबहादुरका शेषपछि उनका भाइहरू र त्यसपछि उनका छोराहरूमा हस्तान्तरण हुँदै जाने पनि घोषणापत्रमा लेखियो । र, राजाबाट पनि राज्य सञ्चालनका क्रममा आन्तरिक वा बाह्य कुनै प्रकारको जोरजुलुम र गल्ती वा अपराध गरे उनीमाथि पनि निग्रह गर्ने अधिकार पनि जङ्गबहादुरलाई दिइयो । त्यसपछि जङ्गबहादुर रोमका तानासाह, (रोमन सुल्ला इसा पूर्व ८२– ७९—अनुवादक जस्तै एकप्रकारको अनन्त तथा चिरस्थायी तानाशाह बनाइए ।
वि.सं. १९१४ जेष्ठ ११ गते बमबहादुरको मृत्यु भयो । उनको मृत्यु धेरै कारणले गर्दा स्मरणीय छ । तीमध्ये केही यहाँ प्रस्तुत गरिन्छ ः— पहिलो, जङ्गबहादुरले गैरकानुनी घोषित गरेका हुँदा उनको मृत्युपश्चात् सती जाने कोही भएन । दोस्रो, प्राकृतिक मृत्युवरण गर्नेमा उनी पहिलो प्रधानमन्त्री थिए । उनीभन्दा पहिलेका सबै सरकार प्रमुखको कुनै न कुनै दुघर्टना वा षडयन्त्रमा परेर मृत्यु भएको छ । तेस्रो, बमबहादुरको अन्त्येष्टि क्रिया सकिएपछि जङ्गबहादुरले प्रधानमन्त्रीको कार्यभार ग्रहण गरे, जो उनले मृतक भाइलाई दिएका थिए । उनी केही समय त यसो गर्न हिचकिचाए र आफूलाई निकै अप्ठ्यारो अवस्थामा परेको अनुभव गरे । तर उनको आदेश र स्वीकृति बेगर राज्यको कुनै पनि महŒवपूर्ण काम हुँदैनथ्यो । यद्यपि उनीसँग वैधानिक अधिकार वा जिम्मेवारी केही थिएन । यो अन्योलको अवस्थामा ब्रिटिश राजदूतले उनीसँग कुनै प्रकारको क्रियाकलाप वा काम कार्वाही गर्न सक्तैनथे । न त ब्रिटिश सरकारको उनीसँग कुनै राजनैतिक सम्बन्ध थियो । तथापि उनी वास्तवमा राजा समान नै थिए, तर उनी गद्दीनसीन राजाको एउटा रैती मात्र थिए ।
जङ्गबहादुरको दोस्रो अवधिको कार्यकाल सुरू हुनुभन्दा केही समयअघि उनको ज्यान मार्ने एउटा षडयन्त्रको पर्दाफास भयो । कालीप्रसाद रेजिमेन्टको एक जना जम्मदारले जङ्गबहादुरको हत्या गर्न आफ्ना धेरै साथीलाई उचालिरहेको प्रमाण फेला प¥यो । त्यस षडयन्त्रमा कतै थुप्रै पुराना अफिसर पनि सम्मिलित छन् कि भन्ने आशङ्का भयो । सबै फौजलाई टुँडिखेलमा सामुहिक भेला हुने आदेश दिइयो र विभिन्न रेजिमेन्टको ठहरबमोजिम विश्वासघाती जमदारलाई उचित दण्ड दिने निर्णय गरियो । तर यसैबीच आफ्नै रेजिमेन्टको सदस्यले गरेको यस प्रकारको घातक द्रोहको अपमान सहन गर्न नसकेर आवेसमा आएका कालीप्रसाद रेजिमेन्टका सिपाहीले तत्काल उसलाई टुक्रा टुक्रा पारेर काटे । उनीहरूले यसो गर्नुको मुख्य उद्देश्य गुरुङ जातिमाथि लागेको कलङ्कको दाग मेटाउनु थियो, जुन जातिबाट त्यो रेजिमेन्ट बनेको थियो ।
पद्मजंग राणाको ‘लाइफ अफ सर महाराज जङ्गबहादुर राणा’ नामक यो पुस्तक रामबहादुर पहाडीले नेपालीमा अनुवाद गरेका हुन् | कतिलाई थाहा पनि नभएका जङ्गबहादुर राणाकै छोरा पद्मजंगद्वारा लेखिएको यो कृति सन् १९०५ मा नै प्रकाशन हुने तयारीमा रहेछ तर दुर्भाग्यवश सन् १९०६ जुन २९ तारिखका दिन उनको निधन भएका कारण उनका निजि सचिब विशेश्वरनाथको सहयोग र प्रो अभायचरण मुखर्जीको सम्पादनमा सन् १९०९ तदनुसार बि.स. १९६६ मा इलाहवादको पायनियर प्रेसबाट प्रकाशित भएको थियो |
Comments