उपन्यास अंश 'काठमाडौंमा एक दिन'
२०७४ चैत्र २४ गते शिवानी सिंह थारू
१० बजे । टङ्केश्वर मार्ग, कालिमाटी ।
गोदाम गुम्सिएको छ । अँध्यारोमा गोदामका भित्ता, कुना र चेप खासखुस खासखुस गर्दै छन् ।
रामाले टर्च बाल्छ । टर्चको उज्यालोमा देखिन्छन्- जुटका बोरैबोरा । कतै खातमाथि खात लागेका । कतै उत्तानो लडेका ।
२५ किलोका ती बोरा मुरैका हुन् ।
देखिँदैनन्- गोदामभित्र चाल मारेर छिरेका घुर्ना, रामा र ट्रक ड्राइभर ।
कहिल्यै घाम नछिरेको जस्तो लाग्ने गोदाममा जुटको ओसिलो गन्ध आइराखेको छ । घुर्नालाई वषर्ाको फुसैलो घरको गन्धझैं लाग्छ ।
टर्चको उज्यालोमा रामा र घुर्ना बोराहरु जाँच्न थाल्छन्, एकेक गर्दै । ट्रक ड्राइभर ढप्काएको ढोकानिर उभिएको छ, मोबाइलको स्त्रिmन ‘अन’ गरेर । उसले बोकेको पोलिथिन ब्यागको खस्य्राकखुस्रुक सुनिन्छ ।
गोदाम मेनरोडबाट भित्र गल्लीमा पर्छ । गल्ली सामसुम भइसकेको छ । वरपरका गोदामहरुबाट मिल्किएका सामानहरुको डङ्गुरमा कुकुरहरुको झम्टाझम्टी र ङ्यार्रङुर्र घरीघरी सुनिन्छ । मेनरोडमा गाडी र मोटरसाइकलको घ्यार्रघुर्र त्यति सुनिँदैन । बेलाबेला साइकलमा फलफूल बेच्नेहरुको हुल फर्किंदै गरेको बरू सुनिन्छ । घरी त लाग्छ, तिनीहरु घुर्नाहरुतिरै आउँदै छन् । त्यति बेला टर्च बन्द गरेर तीनैजना टक्क अडिन्छन् । अनुहार नदेखिए पनि उनीहरु एकअर्काको स्वाँˆवाँ सुन्न सक्छन् । उनीहरुको सास फेराइमा डर सुसाइराखेको प्रस्टै छ । तीमध्ये ट्रक ड्राइभर अलि बेसी नै आत्तिएको छ ।
“अलि छिटोछिटो गर्नुस्, दाजु,” ड्राइभरले साउतीमा भन्छ ।
उसको साउतीको वास्ता नगरी घुर्ना र रामा चिहृन लगाएको बोरा खोज्दै छन्् ।
“पक्का हैन ? रातो एक्सवाला बोरा ?” घुर्नाले सोध्छ । ट्रक ड्राइभरको साउतीले गर्दा उसको स्वर पनि एकाएक मसिनो हुन पुग्छ ।
“रातो एक्सवालै हो,” रामाले गोदामभरि सरसर्ती टर्च घुमाउँछ ।
“के गर्नुहुन्छ, दाजु ? गोदाममा चोर पस्यो भनेर कोही आउन सक्छ । मरवाउनुहुन्छ के ?” ट्रक ड्राइभरको स्वर अलि खुल्छ ।
“कहीँ यताउति नराखेको होस् भनेर हेरेको,” रामालाई सामानको चिन्ता छ ।
“अनलोड गर्दा मैले उः त्यतैतिर देखेको थिएँ,” उनीहरु उभिएकोनिरै ट्रक ड्राइभरले मोबाइल हल्लाएर देखाउँछ ।
रामाले घुर्नालाई टर्च समाउन लगाउँछ । घुर्नाले बोराको थुप्रोमा टर्च देखाइराख्छ । रामाले बोराको घिच्रो समाउँदै जाँच्न थाल्छ ।
“मिल्यो, मिल्यो, ‘चिहृन लगाएको ठाउँ तल परेको रैछ,” छेउतिर लडेका चार ओटा बोरा पल्टाउँदै रामा भन्छ ।
“यो पकड्नुस् त,” घुर्नाले ट्रक ड्राइभरलाई टर्च समाउन दिँदै भन्छ । ट्रक ड्राइभर हतारिएर अघि सर्छ र टर्चलाई बोरातिर सोझ्याउँछ । उसको छोटोछोटो सास फेराइले थाहा हुन्छ, ऊ हडबडाइराखेको छ ।
डर घुर्नालाई पनि नलागेको होइन । त्रासले घरीघरी उसको शरीर सिरिङ्ग नभएको पनि होइन । प्रहरीको फन्दामा कर्यापकुरुप परिने हो कि भन्ने त छँदै छ । त्योभन्दा बेसी जनतान्त्रिक मधेस मुक्ति सुर्जा समूहको निसानाबाट बच्दै हिँड्नुपरिराखेको छ । सुर्जा समूहबाट फरार भएदेखि तिनीहरुको सुटर जता पनि आफूलाई नै ढुकेर बसेझैं लाग्छ । तर डरैडरमा बसेको भए ऊ अहिले पनि गोबरगढाऽऽमै लुकिराखेको हुन्थ्यो । अब त ऊ जसोजसो पर्ला, उसोउसो टारौंला भन्दै आँटिएको छ ।
आˆनो भागमा परेको बोरालाई अरु बोराहरुबाट घुर्नाले अलग्याउँछ । अनि ब्याकप्याकबाट छुरा निकालेर चिहृन लगाएका दुई बोरामध्ये एउटालाई बीचबाट चिर्छ । मुरैका दानाभुइँभरि छितरिन्छन् । असरल्ल सेता दानाले उसको आँखै तिर्मिराउँछ । एकछिन त लाग्छ, ऊ मुरैको भेलमा उभिएको छ ।
मुरैको थुप्रोमा ऊ चाँडोचाँडो पोका खोज्न थाल्छ । जिलेटिनको पोकामा उसको हात पर्छ । आफूले बोकेको ब्याकप्याकमा उसले त्यो पोका कोच्छ र अर्को बोरा आफूतिर तान्छ । त्यसलाई पनि बीचबाट च्यात्छ । मुरैको भेल अबचाहिँ सानोतिनो थुम्कै बन्छ । त्यसबाट इलेक्टि्रक डेटोनेटरको पोका फेला पार्छ । त्योचाहिँ रामालाई दिन्छ राख्न ।
उता डेट्कर्ड तारको पोका निकालेर रामाले हुलिसकेको छ, आˆनो ब्याग्ामा ।
“दाजुहरु अलि…,” ट्रक ड्राइभरले छिटो गर्न दम दिन्छ ।
रामाले ट्रक ड्राइभरलाई दुइटा २५ किलोको बोरा दिन भन्छ । ट्रक ड्राइभरले आफूले समाइराखेको पोलिथिन ब्यागबाट बोरा निकाल्छ र रामालाई थमाउँछ । रामा र घुर्ना मिलेर मुरैलाई बोरामा हतारहतार हुल्छन् । घुर्नाले दुवै बोरालाई आफूले ल्याएको बोरा सिलाउने मोटो सियोले सिउँछ र च्यातिएको बोरालाई पोलिथिन ब्यागमा कोच्छ । बाँकी छरपस्टिएका मुरैका दानालाई रामाले किचेर धूलोपीठो बनाउँछ ।
काम सकाएपछि दुवैले बोराको थुप्रोमाथि टर्च देखाउँछन् । “ठीक छ हैन ?” रामाले ट्रक ड्राइभरलाई सोध्छ ।
ड्राइभर आफैंले पनि टर्चले जाँच्छ । ऊ धूलोपीठो बनेको मुरैतिर गढेर हेर्छ ।
रामाले ड्राइभरको ढाडमा धाप दिँदै भन्छ, “सब चल्छ । भन्दिनू नि केही ।”
ड्राइभर केही बोल्दैन । मानौं, ऊ ट्रान्सपोर्ट साहूको अनुहार सम्झिँदै छ ।
रामाले ब्यागबाट नोटको बिटा झट्कार्दै भन्छ, “र यो मिलाएर भयो ५० हजार ।”
ट्रक ड्राइभरले पैसालाई पाइन्टमा कोच्छ । उसको छोटोछोटो सास फेराइ उस्तै छ । “गन्नुस् न,” रामाले भन्छ ।
“भो दाजु, यहाँ नगनम्, जाऊँ बरू ।” उनीहरु तीनै जना गोदामबाट निस्किन्छन् ।
गल्ली अँध्यारोले डसेको छ । उनीहरुका लागि सुरक्षाकवच बनेको छ, लोडसेडिङ ।
गोदामको पर्खालमा अड्याएको मोटरसाइकलतिर रामा लम्किन्छ । पछिल्तिरबाट ट्रक ड्राइभरले घुर्नालाई सोध्छ, “दाजु, त्यो पोकाहरुमा के छ ?”
रामाले हत्तपत्त जवाफ दिन्छ, “त्यही अस्ति भनेको कटुवा र मसलाहरु छन् । कसैलाई यहाँ जरूरत पडिहाल्यो ।”
ड्राइभर चुइँक्क बोल्दैन । उसले पत्याएन सायद ।
रामाले मोटरसाइकल स्टार्ट गर्छ । घुर्ना ब्याकप्याक बोकेर पछाडि बस्छ ।
“अच्छा, हामी गइरहेछौं । तपाईंलाई कुछ पता छैन है त ?” रामाले भन्छ । उसको बोलीमा चेतावनी छ । तर प्रतिक्रियामा ड्राइभरको हुन्छ, हुँदैन केही सुनिँदैन । सुनिन्छ केवल मोटरसाइकलको घ्यार्रघ्यार्र मात्र ।
हुन्छ त भन्यो होला- अनुमानका भरमा छाडिदिन्छन् ती दुईले । अँध्यारो, त्यसमाथि हतार । खुटयाउन कसलाई फुर्सद ।
मोटरसाइकलको ब्याक लाइट अँध्यारोमा टाढिँदै जान्छ । ट्रक ड्राइभरले हेरिराख्छ उनीहरु गएको । ब्याक लाइटको रातो बत्ती थोप्ला हुँदै ओझेल हुन्छ, सहरभित्र ।
त्यसपछि सुरू हुन्छ, उल्टो गन्ती काठमाडौंको – १०… ९… ८… ७… ६…
(शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंंमा एक दिन’ बाट)
शिवानी सिंह थारुको उपन्यास काठमाडौँमा एक दिन अर्डर गर्न यहाँ क्लिक गर्नुहोस |
Comments