किताब तिम्रो गुणको बखान
के गर्न सक्थे म छु है अजान
सधैँ नमानीकन कति झर्को
दिन्छौ बताईकन ज्ञान अर्को ।
सिद्धिचरण श्रेष्ठले लेख्नुभएको यो कविता बाल्यकालमा घोकेर कण्ठस्थ गरियो। जसको अर्थ उमेरको बढोत्तरी संगै व्यापक बुझिदै जादैँ छ। अध्ययनको नशा मात्र एउटा यस्तो नशा हो, जुन लागेपछि घाटा कहिल्यै नहुने रहेछ । म ८-९ कक्षा पढ्ने वेला मेरा दाजु र दिदी कलेज पढ्नुहुन्थ्यो । एकजना नेपाली विषयमा र अर्को अंग्रेजी विषयमा। हाम्रो घरमा त्यस बेलादेखि नै प्रसस्त कितावहरू हुन्थे । नेपाली साहित्यका धेरैजसो कथा र उपन्यासहरू मैले त्यसै बेला पढेँ । घरमा स्कूलका किताब पढ्नुपर्ने अलि बढी दबाब पनि हुन्थ्यो। तर म लुकेरै भएपनि ति किताब पढि छाड्थेँ। त्यसैगरी अंग्रेजी साहित्यका कथा उपन्यास दिदीले नेपालीमा उल्था गरेर हामीलाई सुनाउनुहुन्थ्यो । त्यो समयदेखी नै हो मलाई साहित्यप्रति रुची बढेको । पाठ्य पुस्तक परीक्षामा पास हुन र राम्रो अंक ल्याउन पढ्थें, अनि साहित्य चाहिँ पढाईमा रुचि बढाउन र आफूलाई आनन्दित पार्न पढ्थें।
एस. एल. सि. पछि उच्च शिक्षा अध्ययन गर्न म त्रिभुवन विश्वविद्यालय किर्तिपुर गए । हुन त म शिक्षा शास्त्रको विद्यार्थी, यसमा साहित्य पढ्नै नपर्ने, तर सबैभन्दा बढी साहित्यीक कृतिहरूको अध्ययन मैले यही समयमा गरेँ । अलिकति पनि फुर्सद हुनासाथ केन्द्रीय पुस्तकालय छिरेर कथा उपन्यास पढिहाल्ने गर्थें । अनि त्यहाँ पढ्दा अति राम्रो लागेका पुस्तकहरू पछि बजारबाट किनेर राख्ने गर्थें । काठमाडौँ खाल्डोले मलाई दिएको सबैभन्दा अनमोल उपहार नै पुस्तक प्रेम भयो ।
काठमाडौँका बाटो–बाटोमा फिजाईएका पुस्तक पसलहरु, समय–समयमा हुने पुस्तक मेलाले मलाई किताब किन्न औधी उत्प्रेरित गरे । म सबै किसिमका पुस्तक पढ्छु । उमेरसँगै पुस्तक छनौटमा परिवर्तन हुदैजाँदो रहेछ । पहिला–पहिला माया प्रेमका कथा धेरै मन पर्थ्यो तर अहिले तिनै माया प्रेमका पनि परिमार्जित र दार्शनिक विचार भरिएका किताब मनपर्छ । देश विदेशको सांस्कृतिक राजनीतिक महान व्यक्तित्वहरुका जीवनी बुझ्न मनपर्छ ।
मेरो श्रीमान् पनि पुस्तकको फ्यान हुनुहुन्छ । उहाँ ई-पुस्तक बढी प्रयोग गर्नुहुन्छ तर म मुद्रित पुस्तक पढ्न नै रुचाउँछु । मलाई रेडियो मार्फत वा अरु कसैका मुखबाट सारमा सुनेका उपन्यास पनि फेरी एकपल्ट पुस्तकमै पढेपछि मात्र सन्तुष्टी मिल्छ । किताब किन्नमा हामी दुवैको रुची छ । उहाँ पनि किताब किन्न पढ्न र आफुले पढेका पुस्तकहरू घरमा सजाएर राख्न साह्रै रहर गर्नुहुन्छ । हाम्रो घरमा पुस्तकको दराज छ जहाँ हामीले पढेका र पढ्ने सूचीमा रहेका किताबहरू संग्रहीत छन् । त्यसमा अझै उत्कृष्ट किताब थपिने क्रम जारी छ । समयक्रम संगै घरमै पुस्तकालय बनाउने हाम्रो योजना छ। हामीले संग्रह गरेका यी किताबरु हाम्रा नानीहरुलाई पक्कै काम लाग्नेछन।
काठमाडौँबाट झापा फर्किँदा मैले धेरै किताबहरु सँगै लिएर आएकी थिएँ । झापामा खोजेका किताब काठमाडौँझैँ सहजै पाउन अझै गाह्रो छ । भेटेको बेला किनिहाल्छु । म सकेसम्म मागेर किताब पढ्दिन । आफैँ किन्छु, किनकि घरमा पुस्तकालय बनाउनुको मजा अर्कै छ। मैले बनाएको पुस्तकालय मेरा छोरा र छोरीलाई काम लाग्छ। पुस्तकहरुले घरको वातावरण शान्त र आनन्दित बनाउँछन् । यो मेरो सोच र अनुभव दुवै हो । किताबहरु हेर्दा मन नै प्रफुल्ल हुन्छ । यसको बयान गरिसाध्य छैन ।
घरमा ठुलाले पढेको देखेर बच्चाहरुले पनि पढ्छन । यसो गर्दा बच्चाले पढाई र किताब दुवैको महत्व बुझ्दै जाने रहेछन् । मैले पढेका धेरै पुस्तकको नाम मेरो छोरालाई पनि थाहा छ । अस्ति त योगमाया १-२ पेज पढेर मैले त केही बुझ्न सकिनँ भन्दै थियो छोरो। अब उनीहरुले बुझ्ने किताबहरू पनि थप्दै लैजाने हो । घरको अध्ययनशील वातावरणले बच्चालाई किताब पढ्नुपर्ने रहेछ भन्ने बोध गराउने रहेछ। कोर्सका किताबहरु त्यसै पनि रुचिपूर्ण हुदैनन्, यस्तो बेलामा घरको पुस्तकालयमा उनीहरुको रुचिको पुस्तक राखिदिने हो भने उनीहरुको मन पढाइबाट अन्त जादैन रहेछ । उनीहरुले केहि न केहि सिकिरहने रहेछन ।
आज पुस्तकमा गरेको थोरै थोरै लगानीमा हामीलाई कुनै पछुतो छैन । यो लगानीले गर्दा हामी बरालिएका छैनौं, हाम्रा बच्चा बरालिएका छैनन् भन्ने कुरामा हामी ढुक्क छौं। झापामा आएर सहज रुपमा पुस्तक किन्न गाह्रो भैरहेको थियो। तर अब यो निराशा यतिबेला सुनवर्षी ईन्टरप्राईजेज इटहरीले पुरा गराईदिएको छ । बन्दाबन्दीको समयमा लामो समयदेखि प्रतिक्षा गरेका धेरै पुस्तक एकैपल्ट होम डेलिभरी मार्फत हातमा पारिदिनुभएकोमा सुनवर्षी ईन्टरप्राईजेजका गोबिन्दपुरे रे र किताबकिरो डट कमका तारानिधि रेग्मी सरप्रति आभार छु ।
अहिले इन्टरनेटले पुस्तक बजारलाई पनि सहज बनाइदिएको छ। यो बजारका सबै सहयोगी हातहरूलाई धन्यवाद ।
Comments