‘अन्तर्दृष्टि’: एक दृष्टिविहीनको संसार यात्रा
२०७७ पुस ९ गते kitabkiro
विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीनको नाम मात्रैले पनि कमलको परिचय अटाउँदैन । १२ वर्षको उमेरमा विद्यालय टेकेर पनि जापानको प्रसिद्ध टोकियो र चुकुवा विश्वविद्यालयमा पढेर विश्वप्रसिद्ध अमेरिकाको हार्भर्ड विश्वविद्यालयको अनुसन्धानकर्मीसम्मको यात्रामा उनले कस्ता अनुभूतिका उकाली–ओराली हिँडे भन्ने पुस्तकले बताउँछ । उनको यात्रामा चुकजस्ता अँध्यारा दुःख छन्, फिलिङ्गोजस्ता आशा पनि छन् अनि छन्– मनै तम्तम्याइलो बन्ने आफन्ती, परिवारजन र समाजका सदस्यको वचनवाणको घाउ ।
कमल परिवारको दोस्रो दृष्टिविहीन थिए । त्यसैले पनि उनले परिवारको भरथेग भनेजति पाउन सकेनन् । गरिबी र अभावको चक्रमा घुमिरहेको परिवारमा दृष्टिविहीनलाई कसरी माया दिने र कसरी आत्मविश्वास भर्ने भन्ने ज्ञान पनि थिएन । कमलको बाल–मनमा अनेकन प्रश्न थिए । तर, त्यसको उत्तर उनको निरक्षर आमा र बाँकी समाजसँग थिएन । उनी आमालाई सोधिरहन्थे, ‘म र दाइ किन आँखा नदेख्ने भएका ?’ धर्मकर्मममा विश्वास गर्ने आमा भन्थिन्, ‘पूर्वजन्ममा मैले धर्म गर्न सकेको भए तिमीहरू आँखा नदेख्ने भएर जन्मिने थिएनौ ।’ आमा छोराहरूले आँखा देख्न सकून् भनेर ठूली एकादशी, सोमबार शिवको, मंगलबार गणेशको व्रत बस्थिन् । तर, कुनै फलिफाप भएन ।
उनले धार्मिक विधि–विधानमा पनि दृष्टिविहीन हुनु पाप–कर्मको परिणामका रूपमा व्याख्या गरिएको उल्लेख गरेका छन् । बाबुको मृत्युपछि करियाकर्मका बेला गरुणपुराण भन्दा पण्डितले पूर्वजन्ममा पुस्तक चोरेको मान्छे यो जन्ममा आँखा नदेख्ने भएर भएर बाँच्नुपर्छ भनेर बताउँदा उनको मन कुँडिन्छ । उनले पुस्तकका कैयौं यस्ता सर्न्दभ उल्लेख गरेका छन्, जसले नेपाली समाज कसरी दृष्टिविहीनप्रति कुन हदसम्म अनुदार छ भन्ने बुझाउँछ । कतिसम्म भने आफ्नै दाइ र दिदीको बिहेमा समेत दृष्टिविहीन भाइ भएको अरूले थाहा पाए भने परिवारको प्रतिष्ठा गिर्छ भनेर उनलाई परिवारका सदस्यले सहभागी गराउन आनाकानी गरेको प्रसंग छ । परिवारबाटै आफूले भोगेको दुर्व्यवहार कमलले नलुकाई लेखेका छन् ।
धन्न बाले छोराले दुःख पाउने भयो भन्ठानेर उनलाई चितवनको जुटपानीबाट काठमाडौं ल्याउने आँट गरे । यही आँट उनको जीवनमा आशाको मधुरो घाम भइदियो । आफ्नो स्कुले जीवनको वर्णन गर्दा उनले दृष्टिविहीनलाई पढाउने पूर्वाधार, पाठ्यक्रम र शैक्षिक प्रणालीमा कस्ता कमजोरी छन् भन्नेबारे मिहीन चर्चा गरेका छन् । कक्षाकोठाभित्रको संरचनात्मक जटिलता, दृष्टि हुनेसँग प्रतिस्पर्धा गर्नुपर्दाको अप्ठ्यारा र फरक क्षमता भएकालाई कसरी पढाउने भन्नेबारे शिक्षकमा विद्यमान बुझाइका कमीलाई उनले आफ्ना अनुभूतिका माध्यमबाट सरल तरिकाले प्रस्ट्याएका छन्, जसबाट विकासको पुछारमा रहेको नेपालका दृष्टिविहीन कस्तो संघर्ष गर्न अभिसप्त छन् र कसरी समाज उनीहरूको निम्ति बिब्ल्याँटो बनिरहेको छ भन्ने बुझाउँछ ।
एसएलसीपछिको पढाइमा पनि उनले कैयौं अप्ठ्यारा झेलिनै रहे । क्याम्पसमा ब्रेललिपिमा पुस्तक नहुँदा उनले साथीभाइलाई किताब पढ्न लगाउँथे । क्यासेटमा रेकर्ड गर्थे । कक्षाकोठामा लेक्चर र रेकर्ड सुनेकै भरमा उनले आईए टप गरे । सजिलै बीए पास गरे । त्यसपछि भने उनको जीवनमा नयाँ घुम्ती थपियो ।
२०५६ मा जर्मनीमा भएको अपांगतासम्बन्धी एक कन्फ्रेन्समा सहभागी भएपछि कमलको आत्मविश्वास त्यसै चुलियो । प्रविधिको सहयोगमा स्वतन्त्रतापूर्वक बाँचेका, दुनियासँग प्रतिस्पर्धा गरिरहेका विदेशी दृष्टिविहीन भेटेपछि उनलाई बाँकी संसारबारे त थाहा भयो नै, दृष्टिविहीन हुँदैमा संसार जान्न, बुझ्न र अगाडि बढ्न रोकिन्न भन्ने ज्ञान पनि भयो । त्यसपछिका वर्षमा उनले अपांगता भएकालाई केन्द्रित कन्फ्रेन्समा भाग लिन स्विडेन र जापान जाने अवसर पाए । यस्ता प्रत्येक यात्राले उनीभित्रको संकोचलाई पखालिदियो र आत्मविश्वासको पखेटा हालिदियो । अपांगतासम्बन्धी काम गर्ने संस्था डिसेबल्ड पिपल्स इन्टरनेसनल र रिह्याबिलिटेसन इन्टरनेसनललगायत संस्थाले जापानमा आयोजना गरेको कार्यक्रममा उनले अनुसन्धानपत्र पेस मात्र गर्न पाएनन्, कैयौं जापानी प्रोफेसर पनि चिन्न पाए ।
अपांगताको क्षेत्रमा काम गर्दै आएको जापानी संस्थाको दस महिने लामो छात्रवृत्ति पाएपछि उनको संसार देख्ने, अध्ययनको यात्रा अगाडि बढाउने काम गरे । त्यही दौरान उनले दृष्टिविहीनले चलाउन सक्ने कम्प्युटर चलाउन सिके । अरुको सहयोगबिना इमेल गर्न सिके । उनले लेखेका छन्, ‘मेरा लागि कम्प्युटरले आँखाको विकल्पमा
काम गरेझैँ लाग्छ ।’ यही छात्रवृत्तिपछि अंकुराएको आत्मविश्वासको बलमा कमलले चुकुवा विश्वविद्यालयमा छात्रवृत्तिमा स्नातकोत्तर पढ्ने अवसर पाए । आर्थिक अभाव, प्रत्येक नयाँ कुरा सिक्नुपर्ने दबाबलाई उनले आफ्नो सपना पूरा गर्ने संघर्षका रूपमा लिए । आफैँ पकाएर खानु, एक्लै यात्रा गर्नु, जापानी भाषा जान्नु र जापानी भाषाकै ब्रेल पनि सिक्नु ! आत्मविश्वासको बलमा उनले प्रत्येक चुनौतीलाई जित्दै गए । त्यसपछि भने प्राज्ञिक संसारमा उनले पछि फर्किनै नर्पने गरी दौडिन पाए । चुकुवाबाटै विद्यावारिधि गरेपछि त उनले प्राज्ञिक दुनियाँमा ख्याति कमाए । दृष्टिविहीनलाई नेपाल र जापानमा पढाइने तौरतरिकाबारे उनले पुस्तकमा तुलनात्मक अध्ययन गरेका छन् । त्यो तुलनाले नेपालको शिक्षा पद्धतिको कमजोरी बुझाउन सघाउँछ ।
अपांगता र गरिबीको सम्बन्ध अनि अपांगताप्रतिको नकारात्मक धारणाविरुद्ध चेतना जगाउन नसकेसम्म उनीहरूले शिक्षाको बहुआयामिक लाभ लिन गाह्रो हुन्छ भन्ने शोध निष्कर्ष निकालेका कमलले विद्यावारिधि सकेलगत्तै जापानको सुप्रसिद्ध फेलोसिप जापान ‘सोसाइटी फर द प्रमोसन अफ साइन्स’ हासिल गरे । टोकियो विश्वविद्यालयबाट पोस्टडक सकेलगत्तै उनले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका) मा अपांगतालाई विकाससँग जोडेर हेर्ने अनुसन्धानकर्मीका रूपमा काम गर्ने अवसर पाए । संयुक्त राष्ट्रसंघको नीति निर्माणको तहदेखि अविकसित र अल्पविकसित देशमा अपांगता भएका व्यक्तिको सशक्तीकरणका निम्ति कस्तो नीति बनाउनुपर्छ भनेर उनले पैरवी गरेको देखिन्छ । ‘क्याब्रिज युनिभर्सिटी प्रेस’ बाट ‘डिस्याबिलिटी, एजुकेसन एन्ड इम्प्लोयमेन्ट इन डेभलपङि कन्ट्रिज ः फ्रम च्यारिटी टु इन्भेस्टमेन्ट’ पुस्तक छपाएका कमलले पुस्तकमा आफ्नो सफलताको यात्रापछिका कैयौं चाखलाग्दा घटनाको विवरण उल्लेख गरेका छन् ।
जापान बसाइकै क्रममा दाजु हरिसँग कमलको आर्थिक लेनदेनको विवाद सुरु हुन्छ । पुस्तकमा उनले दाजु र परिवारका अन्य सदस्यसँग भएको अंश विवादलाई विस्तारमा वर्णन गरेका छन् । पाठकका निम्ति अंश विवादको २५ पेज लामो लम्बेतान व्याख्या झर्कोलाग्दो लाग्छ । कमजोर भाषा सम्पादन, दोहोरिरहने पदावली र अनावश्यक व्याख्याले पुस्तक ठाउँ–ठाउँमा पट्यारलाग्दो बनेको छ । यसका अलवा एउटा दृष्टिविहीनको संघर्ष र सपनाको उडान भने पाठकका लागि रुचिकर लाग्छ । कमलले आफ्नो संघर्षलाई अप्ठ्यारो नमानी खुलस्त लेख्ने हिम्मत गरेका छन् । आफूभित्रको संकोच र हिनतालाई उनले आडम्बरले छोपेका छैनन् ।
चुकुवा विश्वविद्यालयमा सह–प्राध्यापकको यात्रा टुंग्याएर अमेरिकाको हार्भर्ड विश्वविद्यालयमा अनुसन्धानकर्ताको हैसियतमा काम गरिरहेका कमलको आत्मकथा पढ्दा सपना देख्न छोडिएन भने सफलता पछ्याउन सकिन्छ भन्ने प्रेरणा पाउन सकिन्छ । ५७ अनुच्छेदमा बाँडिएको तीस सय पेजभन्दा मोटो पुस्तक पढ्दा दृष्टिविहीनले भोग्ने संसार त थाहा हुन्छ नै, उनको अनन्त संघर्ष र अथक मिहिनेत पनि थाहा हुन्छ । जुटपानी गाउँदेखि अमेरिकासम्मको यात्रामा मिलेको व्यक्तिगत सफलताबाट मात्रै कमल प्रसन्न देखिन्नन् । उनले लेखेका छन्, ‘आफ्नो मात्र सफलताले आत्मसम्मान उचो हुँदो रहेनछ । देश नै सफल र विकसित हुनुपर्दो रहेछ ।’
स्रोतः कान्तिपुर
Comments