Shopping Cart
सुखसुत्र/ Sukhasutra

सुखसुत्र/ Sukhasutra

जीवन तुलनात्मक रूपमा दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ। यही जटिलताले हामीलाई हरेक कुरा प्रति नकारात्मक पनि बनाइरहेको छ। नकारात्मकता भन्नु आत्महीनता र जीवन बिरोधी सोच हो, जोसँग सधै दुःखैदुःख मात्र छ।

जीवनलाई रहर र रमिताहरूले सजाउन सक्नु पर्छ। हरेक तनाव र आकाङ्क्षाहरूको हली भएर जीवन रमाउन सक्दैन। जीवनलाई उज्यालोतिर डोच्याउन सक्नु पर्छ। भीमसेन सापकोटा (आचार्य राजन शर्मा) द्वारा लेखिएको यो कृति त्यस्तै एउटा विशेष हो। जसले जीवनको सकारात्मक पक्षसँग चिनजान गराउँछ, बाँच्न र बढ्न सिकाउँछ।

• कृष्ण धरावासी

अनेक पक्षहरूको संयोग हो जीवन। यो संयोगमा अँध्यारो, रोग, दुर्दान्त, पराजय र उदासिनताको धूलोले पटक-पटक जीवन छोपिन खोज्छ। चौतर्फी छोपाइले सूर्य र चन्द्रमामा ग्रहण भइरहन्छ जीवनयात्रामा जस्तै ।

जीवनसँगै जोडिएका उज्यालो, प्रेम, सुगन्ध, उल्लास र हर्षका अनेक पहाडहरू पैतालाले टेक्न तयार भइरहेकै हुन्छन्। नबुझेर, नचिनेर, नजानेर संसारले अँध्यारो, लामो र कष्टकर ठानिरहेको हुन्छ। होइन, उज्यालो बिस्तारै आउँछ। त्यो प्रकाश र जीवनको सुबास चिनाउने कृति हो यो भीमसेन सापकोटाको। गर्वसँग सुखसूत्रलाई स्वागत गर्दछु ।

• युबराज नयाँघरे

सकारात्मक सोच सम्बन्धी दर्शनको उद्भव भूमि पूर्वीय माटोको पनि नेपाल हुँदाहुँदै समेत नेपालबाट विश्वमा यसका वक्ताहरू वैदिक मञ्चमा देखाउन मिल्ने हैसियत र वजनमा अहिलेसम्म कोही थिएनन्, हाम्रो दर्शनलाई पश्चिमाहरूले भजाएर हामी माथि नै सकारात्मक सोचको खेती गरिरहेका थिए। तर अब म गर्वसाथ भन्न सक्छ- हामीसँग पनि, नेपालीसँग पनि विश्वमञ्चमा खुसी र सुखशास्त्रको अपूर्व व्याख्या सहित जीवन सार्थक बनाउने व्याख्या त वक्ता जन्मिएको छ अर्को आधुनिक भीमका रूपमा। भीम अर्थात कुन्तेय पाँच पाण्डवका माहिला भाइ निष्ठा र पराक्रमका खानी पवन देवको बरदान स्वरूप कुन्तीबाट उत्पन्न, पाण्डवमध्ये सबैभन्दा बलशाली दस हजार हात्ती जित्न सक्ने जसले दूर्योधनको बध गरेसँगै महाभारत युद्धको पनि अन्त्य भयो ।

वर्तमान विश्वको एउटा आन्तरिक र बाह्य अशान्तिको युद्ध अन्त्य गर्न बौद्धिक बिद्रोहबाट अर्का भीम विश्वसामु आउनु भएको छ- भीमसेन सापकोटा शान्तियोद्धा राजन शर्मा यो पुस्तक मार्फत वहाँले दिन खोज्नु भएको दर्शन सबैका लागि सफल जीवन बाँच्न हरेकले सिरानीमा राखेर पढ्नै पर्ने खालको छ। म हरेक दिन गीता अध्ययन गर्ने व्यक्ति हुँ अब गीतापछि हरेक दिन पढ्ने पुस्तक मेरो यही हुनेछ।
• स्वागत नेपाल